Friday, April 26, 2013

रुख, वादल र मान्छे (बालकथा सङ्ग्रह) विजय चालिसे



प्रकाशक
...........................

रुख, वादल र मान्छे
हेर्दा हेर्दै पुतली .....१
रुख, वादल र मन्छे .....८
कति मीठो काँक्रो.....१२
अन्तरिक्षमा हराउँदा.....१६
नभुनभुनाउने बारुलो.....२०
सविनाको डायरी.....२२




१. हेर्दा हेर्दै पुतली

“आमा हेर्नोस न, कस्तो कीरा ?” रमिता र उषाको हातमा एउटा हरियो पात थियो । पातमा झुसिलकीरो टाँसिएको थियो । त्यो देखेर अचम्म लाग्यो ।
“ल हेर...किन ल्याएको । कहाँबाट ल्यायौं हँ ?” आमाले भन्नुभयो ।
“रुखको हाँगामा रे’छ । कस्तो अनौठो कीरा हगि आमा ?”
     आमाले मनमनै सोच्नुभयो– यो झुसिलकीरा पुतली बन्दैछ । यिनीहरूलाई यसैबाट पुतली जीवनचक्र देखाउन प¥यो– “यसलाई घरमैं पालेर हेरविचार गर्नु नि त, हुन्छ ?”
उनीहरू खुसी भए ।
आमाले त्यसलाई कसरी पाल्ने भनेर सिकाउनुभयोे । रमिताले काँचको सफा गिलाँसमा माथिसम्म पानी भरिन् । उषाले बाहिरबाट धेरै पात भएको एउटा हाँगा भाँचेर ल्याइन् । त्यो हाँगोलाई उनीहरूले गिलाँसमा राखे । अनौठो कीरा टाँसिएको हाँगोको फेदलाई पनि त्यही गिलाँसको पानीमा डुबाए । कीरालाई हरियो पातमाथि पर्नेगरी राखे । अनि त्यो गिलाँसलाई उज्यालो पर्ने गरी झ्यालको छेऊमा राखे ।
आमा उनीहरूले सबै कुरा सिकाएजस्तै गरेको देखेर खुसी हुनुभयो ।
कीरालाई पनि अब सुहाउँदो वातावरण मिल्यो । झ्यालको छेउमैं घाम लाग्ने ठाउँमा राखेकोले पातले सूर्यको उज्यालोबाट शक्ति लियो । अनि त्यसबाट लिएकमो शक्तिबाट आफूलाई चाहिने खाना बनायो । पातहरू पनि हरिया र ताजै रहे ।
कीराले हरियो पात खानथाल्यो । मज्जासँग अघाएपछि एकछिन हलचल नगरी बसिरह्यो । तर केही बेरपछि नै फेरि खान थाल्यो ।
उषाले भनिन्, “कस्तो खन्चुवा रहेछ हगि दीदी यो कीरो त ।”
खाँदा खाँदा त्यो कीरो एक दुई दिनमैं निकै मोटो देखियो । मोटाउँदा मोटाउँदा त्यसको जिउको छाला नै पट्पट् फुट्न थाल्यो । त्यति हुँदा पनि खान भने छाडेन ।
उनीहरू कीरोको हरेक आनीबानी हेरिरहेका थिए । त्यो कीरो त्यसरी बदलिँदै गएको देखेर उनीहरूलाई अनौठो लाग्दैथियो । रमाइलो पनि भएको थियो ।
“देख्यौ त...कीरा कसरी बदलिँदै छ ?” एक दिन आमाले भन्नुभयो ।
“हो आमा...कस्तो खन्चुवा रहेछ यो कीरो त । छाला फुट्नेगरी मोटाउँदा पनि खान छाड्दैन !”
“ठीक छ, अभैm हेर्दै जाओ ...!” आमाले भन्नुयो ।
त्यपछि पनि कीरोले खान छाडेन । जति खाए पनि अघाउँदैनथ्यो । उनीहरू हरेक दिन हेरिरहेका थिए । दिनहुँ गिलासमा ताजा पानी पनि फेरिदिन्थे ।
तर एक दिन त्यो कीरो अकस्मात हरायो । चारैतिर हेरे, कतै देखेनन् । कतै नदेखेपछि उषाले भनिन्– “आमा कीरो त हरायो नि ! ...कतै पनि देखिँदैन ।”
“राम्ररी हेर न...अर्को ठाउँतिर स¥यो होला ।” आमाले सम्झाउनुभयो ।
अहँ कीरो भने कतै देखिएन । उनीहरूलाई नमज्जा लाग्यो ।
भोलिपल्ट विहान उठेर फेरी खोजे । कीरो त भ्mयालम हालेको पर्दाको एउटा कुनोमा पो टाँस्सिएर बसेको रहेछ । कीरो रेसमको गुँडभित्र थियो । त्यो रेसमको गुँड त्यही कीरोले रेसमी धागो बनाएर बुनेको थियो ।
कीरो पर्दामा टाँसिएको त्यही गुँडभित्र आरामले बसेको थियो । गुँडको मुख खुलै भएकोले कीरो बाहिरैबाट देखिन्थ्यो ।
“अब अरु गौर गरेर हेर्दै गर्नु है !” आमाले फेरि सम्झाउनु भयो । उनीहरूले भोलिपल्ट कीरोको ढाडको छाला अरु धेरै फाटेको देखे ।
      कीरो भने रेसमी गुँडभित्र आरामले बसेको थियो । दुई हप्ता हुन लागिसक्यो, जस्ताको त्यस्तै ! उनीहरूलाई पट्यार पनि लाग्यो । गुँडभित्र भने कीरोको शरीर अलिअलि गर्दै बदलिइरहको थियो ।
उनीहरू बाहिरैबाट गुँडमा चियाएर हेर्थे । केही दिनपछि कीरोको जिउ रंगविरंगी देखियो । उनीहरूले हेर्दा हेर्दै एक दिन कीरो गुँडबाट निस्क्यो । ओहो कस्तो अचम्म ? त्यस्तो देख्दै घिनलागे पटपट छाला फुटेको कीरोको अहिले त कस्तो राम्रो देखिएको ! रूप, रंग, आकार प्रकार केही पनि मिल्दैन ! पिठ्युँमा दुवैतिर दुई दुईवटा पखेटा पनि उम्रिएछ ! त्यो देखेर सबै छक्क परे ।
“आहा..कति राम्रो भएछ त्यो खन्चुवा कीरो त  !” रमिताले रमाएर थपडी बजाएन् ।
“अझै केहीबेर चुप लागेर हेर त ।” आमाले भन्नुभयो ।
नभन्दै चलहल गर्ननसक्ने गरी खाएर बसिरहने कीरो त केहीबेरमैं सुन्दर पुतली बनेर फुर्रर उडयो । हेर्दाहेर्दै केही बेरमैं आँखाबाट समेत ओझेल भयो ।
“देख्यौ त, पुतली कसरी जन्मँदोरहे छ ? यसैलाई त हो नि पुुतलीको जीवनचक्र भनेको । देख्यौ होइन, फुल फुटेर निस्केको त्यो पात खाने कीरो कसरी गुँडभित्रको प्युपा हुँदै पुतली बन्यो । खन्चुवा कीरोको अवस्थालाई चाहिँ लार्भा भन्छन् !
“ओहो...अमाले भनेपछि पो स्कुलमा सरले पढाउनुभएको कीराहरूको जीवनचक्र छर्लङ्ग भयो ।” उषाले रमाउँदै भनिन् ।
   




२. रुख, वादल र मान्छे
जेठको महिना गर्मीले बसिनसक्नु थियो । एक थोपो पानी परेको थिएन । पात सुकेर रुखविरुवा जिङ्ग्रिङ्ग परेका थिए । आकाशको एउटा कुनोमा सानो चौटो बाहेक कतै वादल देखिँदैनथ्यो । घामले सुकेर झर्दै नाङ्गो भएको रुखले त्यही सानो एक चौटो वादललाई बोलायो– “ए वादल दाइ....यता आउनोस् न !”
“किन र, के भयो रुख भाइ ?” वादलले केही तल ओर्लेर सोध्यो ।
“सहनै नसकिने गर्मीले जीउको सबै पानी सुकिसक्यो । पात र मसिना हाँगा सुकेर सबै झरिसके । अलिकति पानी पारिदिनोस् न... !” रुखले भन्यो ।
”पर्खन....के को हतार !” रुखको कुरालाई वादलले हाँसेरै टा¥यो ।
सूर्य झन्झन् आगो ओकल्न थाले । गर्मी झनै बढ्यो । मानिसदेखि लिएर रुख विरुवा, चराचुरुङ्गी, जनावर सम्म नै सबै आजित थिए । न काममा निस्कन सकिन्थ्यो, न चारा खेज्नै जान सकिन्थ्यो । शीतल छहारीबाट बाहिर निस्क्यो कि आगोको भुङ्ग्रोमा परेजस्तै भइहाल्थ्यो ।
सबैको त्यस्तो हालत देखेर रुख असाध्यै दुःखी थियो । आकाशमा भने त्यही एउटा सानो चोक्टो वादल बाहेक पानी पार्ने वादलको समूह कतै देखिँदैनथ्यो । पानी पर्ने कुनै छाँटै थिएन ।
रुखले त्यही एक चौटो वादलसँग केही दिनपछि फेरि हात जोडेर विन्ती ग¥यो, “अव त अति नै भयो वादल दाइ ! यस्तै हो भने त सबै मरिने भैयो ।”
रुखले त्यसरी हात जोडेर विन्तीभाउ गरेको देख्दा वादलको मन केही पग्ल्यो । ऊ अलि तल ओर्लंदै भन्यो, “के गर्छौ त रुख भाइ, यतिसम्म हुँदा पनि यी मान्छेको चेत फिर्दैन ! यिनीहरूलाई चेताउन पनि अलिकति कस्ट त सहनै प¥यो नि । हेर न तिमीहरूलाई मनलागी काटेर सखापै पारिसके ! रोप्न चाहिँ एउटा रोप्ने होइनन् ।”
वादलको कुरा सुनेर रुख छक्क प¥यो, “हामीलाई काटेर तपाइँकाें के नोक्सान हुन्छ र ? मान्छेद्वारा काटिनु पर्दा पनि मर्ने हामी नै हौं, पानी नपरेर सुक्नुपर्दा पनि मरण हाम्रै हुने हो !”
“कुरा बुझ न रुख भाइ ! पानी पार्न हामीलाई पनि त बल चाहिन्छ नि । हामी जति फैलिन्छौं, त्यति नै पानी पर्ने होइन र ?” वादलले कुरा बुझाउन खोज्यो ।
“होला, तर कसले रोकेको छ र तपाइँहरूलाई फैलन ?” रुखले अझै उसको कुरा बुझेन ।
“ जराबाट सोसेर तिमीहरू जति धेरै पानी वाफ बनाउँदै आकाशमा फाल्छौ, त्यति नै हामी धेरै र बलिया हुन्छौं । धेरै र बलिया भएपछि पो आकाशभर फैलिएर सबैतिर पानी पार्नसक्छौं । मानिसले जथाभावी रुख काटिदिँदा तिमीहरू धेरै पानी सोसेर वाफ फाल्न सकेनौ । हामी दुब्ला भएर सबैतिर फैलि न सकेनौं । अनि चाहेजति पानी कसरी पार्न सक्नु नि ?” वादलले खास समस्या सुनायो ।
“ओहो....कुरा त यस्तो पो रहेछ ? अव के गर्ने त ?” रुख वादलको कुराले धेरै चिन्तित भयो ।
“हेर अहिलेसम्म त दुब्लाए पनि धेरथोर पानी पार्ने तागत बाँकी छ । तर यस्तै हो भने हाम्रो पनि केही लाग्दैन । त्यसपछि के गर्छौ भन त ? त्यसैले अव यस्तो गल्ती गर्दैनौं भनेर मानिसले वाचा नगरेसम्म पानी नपार्ने अठोट पो गरेका छौं हामीले त !” वादलले सम्झायो ।
रुखले सोच्यो, “कहिले आउला बुद्धि यी मान्छेमा ?”
रुख झन बढी चिन्तित देखियो । उसले भोलिपल्टै रुखहरूको सभा बोलायो । सबै मिलेर मानिसलाई वादलले भनेको कुरा बुझाउने सल्लाह भयो ।
रुखहरूले एउटा प्रतिनिधिमण्डल बनाए । सबैले वादलसँग कुरा गर्ने रुखलाई नेता बनाएर मानिसलाई भेट्न गए ।
“मानिस दाइ...एकपल्ट बाहिर आउनोस् त !” मानिस घरभित्र विजुलीको शीतल हावामा आरामले बसेको थियो । उही वादलसँग कुरा गर्ने रुखले मानिसलाई बाहिर बोलायो ।
“किन आएका तिमीहरू यस्तो गर्मीमा ?” उसले झर्किँदै सोध्यो ।
हेर्नोस्...अहिले त चर्को गर्मी मात्रै छ, यस्तै भइरहने हो भने पछि गएर यही गर्मीले डढाएर कोही बाँकी रहनेछैनौं !” यति भनेर उसले वादलसँग भएका सबै कुरा मानिसलाई सुनायो ।
“ओहो... यति गहिरो पो रहेछ यो समस्या ? ल.. ठीक छ म अरुसँग पनि सल्लाह गरेर रुख नकाट्ने, काट्नै परे एउटा काट्दा दशवटा रोप्ने भनी राजी गराउँछु । त्यति भए त वादलले पानी पार्लान् नि ?” मानिस पनि भोलिको डरलाग्दो अवस्था सोचेर गम्भीर बन्यो ।
“तपाइँहरूले वादलसँग अब गल्ती नदोहो¥याउने वाचा गर्नुभयो भने वादलहरू मिलेर पानी कसो नपार्लान् !” उसले भन्यो ।
त्यही सल्लाह बमोजिम भोलिपल्टै मानिसहरूको मिटिङ बस्यो । रुखसँग भएका कुरा सुनेपछि उनीहरू वादलसँग वाचा गर्न राजी भए । अनि उनीहरू सबैले वादललाई बोलाएर  अब यस्तो गल्ती नगर्ने वाचा गरे । मानिसहरूको वाचा सुन्नासाथ सबै वादल खुसी भएर आकाशभरि फिँजिए । जताततै मजाले पानी प¥यो । सबै शीतल पानीमा भिजेर खुसी मनाउन थाले –आहा कति शीतल...कति रमाइलो !







३. कति मीठो काँक्रो !

आरुबारीमुनि एउटा रमाइलो गाउँ थियो । गाउँकै छेउबाट वागमती नदी बग्थ्यो । तर्कारी र अन्न फल्ने धेरै खेतहरू मान्छेले बनाएका घरैघरले भरिँदै थिए । कतै खाली ठाउँ बाँकी थिएन । केटाकेटीले खेल्ने ठाउँसम्म पाउन छाडेका थिए । मानिसले मनलागी फोहर फाल्ने ढल मिसाउँदा वागमती नदी ढलजस्तै फोहर बनेको थियो ।
त्यही बस्तीको एक छेउमा भने एकजना किसानको खेत थियो । मिहिनेत गरेर त्यहाँ उनी मौसम अनुसार अन्न र तर्कारी फलाउदँथे ।
केदार, शिव र सविताको टोलमा पनि खेल्ने चौर थिएन । उनीहरू ती किसानको खेत नजिकै सानो चौरमा खेल्थे । चौरको गोरेटो बाटो उनीहरूको टोलसम्म पुग्थ्यो । चौर स्कुलबाट पनि नजिकै पर्ने हुँदा कहिले काहीँ खाजा खाने छुट्ीमा पनि त्यतै गएर खेल्थे ।
जेठ महिनाको एउटा शुक्रवार स्कुलमा आधा छुट्टी थियो । छुट्टीपछि खेल्न भनी केदार, शिव र सविता त्यही चौरमा गए ।
स्कुलबाट जाँदा किसानको खेत भएर चौरमा जानु पथ्र्यो । खेतमा काँक्रा, फर्सी, मटर कोसाजस्ता थरी थरीका तर्कारीहरू लटरम्मै फलेका थिए ।
“आहा....कति राम्रा काँक्रा हेरत !” केदारले ती रसिला काँक्रातिर देखाउँदै भन्यो ।
“होत...देख्दै खाइहालौंजस्तो !” ती रसिला काँक्रा देखेर शिवको पनि मुख रसायो ।      
“कति मिहिनेती छन् नि किसान बाजेका परिवार ! अनि नफलुन् त हरिला भरिला काँक्रा !” सविताले किसानको तारिफ गरिन् ।
“खेमा कोही देखिँदैन ! जाउँ हिँड एक एकवटा काँक्रो टिपेर खाउँ ।” रसिला काँक्रा देखेर केदारको मन लोभ्भियो ।
“कसैले देखिहाल्यो भने नि ...?” शिवको मन पनि काँक्रो देखेर लोभ्भिएको थियो ।
“के कुरा ग¥या यस्तो ! यस्तै नचाहिने कुरा सोच्छौं र त तिमीहरूसँग हिँड्न मन लाग्दैन ! कसैले देख्दैन भन्दैमा अर्काको खेतमा पसेर चोर्नु हुन्छ ?“ सविताले सम्झाउन खोजिन ।
“ल..ल.. बढी मास्टर्नी नपल्ट ! खेतमा फलेका यति धेरै काँक्रामा दुई तीनवटा टिपेर खाँदैमा कसैले चोरेको भन्छ !” केदारलाई सविताको कुरा मन परेन ।
““हो, त...कसैको घरमा पसेर चोरेको हो र ?” शिवलाई पनि उसकै कुरा ठीक लाग्यो । दुबैले सविताको कुरा सुनेनन् ।
उनीहरू खेतमा पसे । रसिला तीनवटा काँक्रा टिपे । माथि आएर केदारले सवितालाई पनि एउटा दिँदै भन्यो, “ल खाउ, नटिपे पनि खान त हुन्छ नि !”
सविताले रिसाउँदै भनिन्,“ खाओ तिमीहरू नै । चोरेको काँक्रो खानु छैन मलाई !”
केदार र शिवले भने स्वाद लिइलिइ काँक्रो खाए ।
किसानका बूढाबूढी विहान सधैं आएर गोडमेल गर्थे । उखेलेको खाली ठाउँमा तर्कारीका नयाँे बेर्ना रोप्थे । खाना खाने बेला घर फर्कन्थे ।
उनीहरू भोलिपल्ट विहान सधैं झैं खेतमा पुगे । काँक्रोको लहरामा उनीहरूको आँखा प¥यो । एउटा लहरामा तीनवटा भेट्ना मात्र देखिए ।
”हिजो एउटा पनि काँक्रो टिपेजस्तो लाग्दैन । कि तिमीले टिपेकी थियौ ?” काँक्रा टिपेको तीन तीनवटा भेटना देखेर किसानले सोधे ।
“काँ’ टिप्नु नि मैले ? कसले टिप्यो होला त हँ ? चोर त पल्केन ?” बूढियाले पनि चारैतिर हेर्दै भनिन् ।
निकैबेर सोचेपछि चोर पत्ता लाउन भोलि विहानैदेखि चियो बस्ने सल्लाह गरे ।
अघिल्लै दिनको सल्लाह अनुसार उनीहरू भोलिपल्ट विहानै खाना खाएर खेततिर लागे । खेतमा अरुले नदेख्ने गरी चियो बसे ।
खाजा खाने छुट्टीको बेला आज पनि केदार, शिव र सविता त्यही चौरतिर घुम्न गए । केदार र शिवले आज काँक्रो चार्दैनौं भनेकाले सविता साथ लागेकी थिइन ।
किसानका बूढाबूढीले चियो बसेका ढाउँबाट तीनजना केटाकेटी त्यतै आउँदै गरेको देखे । “ऊ...हेर्नोस् त, यिनै जस्ता छन् काँक्राचोर ।” किसानकी बूढियाले उनीहरूलाई देखाउँदै भनिन ।
“चूप् लाग..भाग्लान् फेरि ! यही बाटो घर जान लागेका विद्यार्थी पनि त हुनसक्छन् नि !” किसानले भने ।
खेत नजिकै पुगेर केटाहरूले पल्यकपुलुक चारैतिर हेरे ।
“आज पनि कोही छैन जस्तो छ, जाउँ श्याम एक–एकवटा काँक्रा टिपौं ।” केदार फेरि पनि लोभ्भियो ।
“तिमीहरूको खराब बानी नसुध्रिने भो’ हगि ? आज टिप्दैनौं भन्यौ र पो म पनि साथै आएकी त । नत्र..।” सविताले रिसाउँदै भनिन् ।
“कति जाती बन्नु प¥या यो सवितालाई ! तिमी नआऊ न । हामीमात्रै जाउँला भएन !” श्यामले च्याठ्ठिँदै भन्यो ।
सविताको कुरालाई वास्तै नगरी उनीहरू खेतमा ओर्लिए । लहरामा झुलिरहेका कल्कलाउँदा काँक्रा देखेर टिप्न भनी हात लम्काए । त्यति नै बेला कसैले ट्याप्प तिनका हात समात्यो । काँक्रो टिप्दा टिप्दै रातो हात फेला परेपछि पो उनीहरू झसङ्ग भए । हात समात्ने किसान थिए ।
“बल्ल समातिए काँक्रा चोर ! अब तिमीहरूलाई बाँधेर स्कुलमा नबुझाइ काँ’छाड्छु र ....!” किसानले भने ।
“घरमा पसेर चो¥या हो र ?” शिवले भन्यो ।
“हेर, अझ लाजै नमानी जिरह पोगर्दोरे’छ ए यो बद्मास ! अर्काको कुरा नसोधी लिएपछि चोरेको ठहरन्छि भन्ने पनि थाहा छैन ?” उसको कुरा सुनेर किसान रिसाए ।
“होइन...होइन बाजे... हामी चोर होइनौं ! बिन्ती, हामीलाई छाडिदिनोस् ।” किसान रिसाएको देखेर केदारले भन्यो ।
स्कुलमा बुझाइदिए भने स्कुलबाटै निकाल्न बेर छैन । सविताले नरम हुँदै भनिन्, “बाजे, हामीले गल्ती ग¥यौं, ....एक पटकलाई माफी दिनोस् ! अब हामी कहिल्यै यता आउँदैनौं ।”
”तिमी किन माफी माग्छ्यौ नानी, तिमी त यिनलाई चोर्न हुँदैन भनेर पो सम्झाउँदै थियौं त । हामीले सबै कुरा सुन्यौं । तिमीले भनिहाल्यौ, भैगो....नजानेर गरेछौ भन्ठानी एक पटकलाई छडिदिएँ । फेरि पनि चोरी ग¥यौ भने चाहिँ छाड्दिन नि !” किसानले माफी दिँदै भने ।
”बाजे अब हामी यस्तो गल्ती कहिल्यै गर्दैनौं ।” केदार र शिवले पनि हात जोडेर माफी मागे ।
किसान बज्यैले एउटा राम्रो काँक्रो दिँदै सवितालाई भनिन्, “ल...लाऊ नानी तिमीलाई चाहिँ यो पुरस्कार !”
“धन्यवाद!” सविताले धन्यवाद दिइन् ।



४. अन्तरिक्षमा हराउँदा
ईशान र आयुषा दुवै दाजुवहिनीको नाम अन्तरिक्ष यात्रामा जानेहरूको सूचीमा परेको थियो । त्यो थाहा पाएदेखि नै उनीहरू असाध्यै खुसी थिए । दुवै अन्तरिक्ष विज्ञानमा चाख राख्थे । उनीहरू नेपालभरका स्कुलबाट लिइएको परीक्षाबाट छानिएका थिए । यो यात्राको उद्देश्य  अन्तरिक्षका बारेमा नयाँ कुरा जान्नु र युवा अन्तरिक्ष वैज्ञानिक तयार गर्नु थियो ।
उनीहरू चाँडै नै अन्तरिक्ष यात्रामा उडे । सगरमाथाको आधारशिविरको अन्तरिक्षकेन्द्रबाट रकेट प्रक्षेपण गरियो । गणेशमा सिंह र मनमोहन अधिकारीले एकैसाथ सुइ थिचेर त्यसको उद्घाटन गरे ।
आँखा झिमिक्क गर्न नपाई नपाई रकेट पृथ्वीको कक्षबाट बाहिर पुगिसकेछ । टाढाटाढा अन्तरिक्षमा टिलपिल टिलपिल ताराहरू टिलपिलाइरहेका देखिए ।
“आहा...मलाई त सपना देखेजस्तो पो लागिरहेछ ! कति रमाइलो !” ईशानले भन्यो ।
“होत ...मलाई पनि सपनाजस्तै लागिरहेछ ।” आयुषालाई पनि उत्तिकै रमाइलो लागिरहेको थियो ।
तर उनीहरूको त्यो खुसी धेरैेबेरसम्म रहन पाएन । रकेटको कम्प्युटर पर्दामा गाढा रातो चम्किलो बस्तु बेगले उनीहरूकै यानतिर आइरहेको देखियो । त्यो देख्नासाथ ईशान चिच्यायो, “आयुषा रकेटलाई अर्कैरित घुमाऊ !”
कम्प्युटरको पर्दामा देखिएको दृश्यमा विशाल ग्रहजस्तै एउटा गोलो आफ्नै यानतिर आइरहेको देखेर आयुषा पनि आत्तिइन् –“ओहो...ठोक्कियो भने ...?”
केही आत्तिए पनि आयुषाले होस गुमाइनन् । उनले रकेटलाई जोडले अर्कैतिर घुमाइन् ।
तर रकेट पूरै अर्कोतिर घुम्नै नपाइ ठूलो आवाज आयो । रकेटभित्र गाढा अन्धकार फैलियो । उनीहरू सिटबाट उछिट्टिएर फेरि सिटमैं बजार्रिए । पेटी बाँध्नुका साथै रकेटभित्र सुरक्षाको सबै बन्दोबस्त रहेकाले कसैलाई पनि चोट भने लागेन । ईशान र आयुषा सिटमैं बेहोस भए ।
ईशानको आँखा खुल्दा ऊ एउटा ठूलो कोठामा सुतिरहको थियो । काँचैकाँचले बनेको त्यो कोठामा थरी थरीका मिसिनहरू टन्नै थिए । केही पर अर्को कुनामा आयुषा अझै बेहोस लडिरहेकी थिइन् । ऊ वहिनीलाई होसमा ल्याउने केशिसमा लाग्यो ।
ठीक त्यसैबेला उसको छेवैको काँचको भित्तो ढोका खुले झैं खुल्यो । त्यहाँबाट एउटा फलामे मान्छे रोबोट उसको नजिकै आएर भन्यो, “पृथ्वीका नयाँ पाहुनालाई क्रिस ग्रहमा स्वागत !”
”क्रिस ग्रह रे ? ...कहाँ छ यो नामै नसुनेको ग्रह ...!”  ईशानलाई आश्चर्य लाग्यो ।
”ओहो...कहाँ अइपुगियो ?” आयुषालाई पनि होस आएछ । उनले सोधिन् ।
“यस्ता कति छन्, कति तिमीहरूले नाम नसुनेका ग्रह !” रोबोटले ईशानको मनको कुर सुनेजस्तै गरी जवाफ दियो ।
“हाम्रो यान कसरी आयो त तिम्रो ग्रहमा ?”
“हाम्रो ग्रहको चुम्वकीय शक्तिले तिम्रो यानलाई आफूभित्र खिच्यो । अव तिमीहरू हाम्रै ग्रहमा बस्ने, कसो ?” क्रिसको रोबोटले भन्यो । उसको स्वर सुन्दै अचम्म लाग्दो थियो । त्यो आवाज पर कतै माहुरी भुनभुनाएजस्तै सुनियो ।
“नाइँ, हामी त बस्दैनौं । आफ्नै पृथ्वीमा जान्छौं !” ईशानले भन्यो ।
“यहाँ आएपछि कोही पनि फर्केर जान सक्तैन । त्यसैले खुसी भएर बस, चाहेको ठाउँमा घुम !” रोबोटको कुराले उनीहरू डराए ।
ऊ गएपछि भित्तो फेरि बन्द भयो ।  
“के गर्ने अब...?” आयुषा बढी डराएकी थिई ।
“डराएर हुने होइन, केही सोच्नु पर्ला....तिमी नआत्तिऊ....!” ईशानले वहिनीलाई सम्झायो ।
“पहिला त हाम्रो आफ्नै रकेट फेला पार्नुप¥यो । कहाँ छ कुन्नि ।” रकेट सारसौंदो छ कि छैन भन्ने पनि थाहा थिएन ।
“ठीक भन्यौं ! नआत्तिइकन चारै तिर हेरौं, कतै न कतै कसो फेला नपर्ला ?” वहिनीको कुरा ईशानलाई मनासिवै लाग्यो ।
दुवै दाजुवहिनी एक छिन पनि नबसी घुम्न थाले । ग्रहमा अनौठा अनौठा बस्तु थिए । माटो पनि उनीहरूले पृथ्वीमा देखेजस्तो थिएन । ढुङ्गा पनि अचम्मैका । अघि कोठामा देखिएका रोबोटजस्तै रोबोटहरू चारैतिर काम गरिरहेका देखिन्थे ।
”त्यो त हामीजस्तै देखिन्छ नि ?” आयुषाले केही पर देखाएर भनिन् । त्यो पृथ्वीकै मान्छेजस्तो देखिन्थ्यो ।
उनीहरू मान्छेजस्तै देखिने जीवको नजिक पुगे । ती त नेपालकैं ठूला वैज्ञानिक पो रहेछन् । अन्तरिक्ष वैज्ञानिक डा. खवासलाई देखेर उनीहरू चकित भए ।
डा. खवास तीन महिना अघि अन्तरिक्ष यात्रामा गएका थिए । उड्दा यान प्रक्षेपण भएको केहीबेरमैं पृथ्वीसँग सम्पर्क हराएको थियो । त्यसपछि कुनै जानकारी पाइएको थिएन । डा. खवासको यान पनि गुरुत्वाकर्षणले तानिएर क्रिस ग्रहमा आइपुगेको रहेछ ।
उनीहरूलाई देखेर डा. खवास पनि छक्क परे । डा. खवासले नै  ईशान र आयुषालाई अन्तरिक्ष यात्राको तालिम दिएका थिए ।
”ओहो...डाक्टर अङ्कल तपाइँ पनि....!” ईशानले सोध्यो ।
”मेरो यान पनि यही ग्रहको गुरुत्वाकर्षणमा प¥यो । यो ग्रह हाम्रो यात्राको बाटोमा परेको थाहै भएन । मसँग आएका साथीहरूको मस्तिष्कशोध (ब्रेनवाश) गरेर उनीहरूजस्तै बनाइसके । मेरो त यानको पनि पत्तो छैन । फर्कने आशा पनि मरिसक्यो !” डा. खवास निराश थिए ।
“हाम्रो यान त फेला पर्ला नि । त्यो खोज्न पाए....!” ईशानले भन्यो ।
“हुन्छ, तर हामीले यान खोज्ेको कुरा चाहिँ थाहा नपाउन् नि !” डा. खवास भने ।
उनीहरूले यान फेला पारे । त्यसपछि होसियारीपूर्वक सुटुक्क उडाएर ग्रहको आकर्षणक्षेत्रभन्दा बाहिर पु¥याए । केही दिनपछि त उनीहरू आफ्नैै पृथ्वीको प्यारो देश नेपालमा थिए ।









५. नभुनभुनाउने बारुलो
साने चिटिक्क परेको, राम्रो थियो । उसको छात्तीको पहेँलो रङ र चम्किला काला पखेटा साहै्र राम्रा देखिन्थे । ऊ पखेटा फट्फट् चलाएर टाढाटाढासम्म उड्न सक्थ्यो । अरुजस्तै भुनभुनाएर बोल्न नसक्दा भने साने बारुलो धेरै दुःखी थियो । बोल्न नसक्ने हुँदा न अरुसँग कुराकानी गर्न सक्थ्यो, न गीतै गाउन सक्थ्यो । त्यसमाथि कसैकसैले लाटो भनेर जिस्क्याउँदा साहै्र दुःखी हुन्थ्यो ।
ऊ जोडले भुनभुनाएर बोल्न खोज्थ्यो, सक्दैनथ्यो । आफूमा भएको त्यो कमीले गर्दा ऊ दिक्क थियो । ऊ एक्लै लठ्यौरो आवाजमा भुनभुनाएर दःुखका गीत गाउँथ्यो । उसले गाएको गीत अरु बारुलाले भने पटक्कै बुझ्दैनथे । अनि उसलाई गिज्याउँदै हाँस्थे ।
उसलाई माया गर्ने केही साथी भने “हामीले गुनगुनाएर बोलेको ध्यान दिएर सुन । अनि त्यसरी नै भुनभुनाउने कोसिस गर न ! सकिहाल्छौ नि, नसक्ने के कुरा छ र !” भन्दै हौसला दिन्थे ।
विचरो साने भने जति कोसिस गरे पनि अरुजस्तो भुनभुनाएर बोल्न सक्दैनथ्यो । उसका साथी पनि थिएनन् । त्यसैले बाक्लो झाडीभित्र एक्लै बस्थ्यो । अरु बारुला भने टाढा टाढा गए टन्न फूलका रस चुस्थे अघाएर रमाउँदै आफ्नोे गोलोमा फर्कन्थे ।
झाडीको छेउमा एकजना किसानको घर थियो । ती बारुलाले पनि झाडी कै एउटा रुखको टोडकामा गोलो बनाए थिए ।
गोलोमा फर्केपछि सबै मिलेर एकआपसमा गफठट्टा गर्थे । साने उनीहरूको गफठट्टामा सामेल हुन रुचाउँदैनथ्यो । ऊ टाढै बसेर उनीहरू भुनभुनाएको सुनिरहनथ्यो ।
एक दिन साने झाडीभित्र बसेर दुःखको गीत गाइरहेको थियो । उसले किसानका बाबुछोराको कुरा सुन्यो– “बाबु कृष्ण...। घर छेउकै झाडीमा धेरै बारुलो बसेका छन्, तिनले टोक्लान् भन्ने डर ! भरे साँझमा राँको बालेर टोडकाको त्यो गोलो जलाउनू है ।”
ती किसानका कुराले साने धेरै डरायो– “आफू बोल्न सक्दिन । कसरी बताउने होला ?”
दिनभर रस खाएर अघाएका बारुला गोलामा फर्के । सधैं झैं केही बेर थकाइ मार्दै गफमा बिताए । सानेले अघि सुनेको कुरा सुनाउन खोज्यो । तर मरीगए आवाज निस्केन । अलिअलि गर्दै साँझ छिप्पिँदै गयो ।  
    किसानको छोरो साँझ परेपछि राँको बालेर गोलो डढाउन झाडीतिर आयो ।
किसानको छोरो राँको बोकेर गोलातिरै आएको देखेर सानेको सातो गयो– कसरी बताउने यो, सबै गफमा मस्त छन् ।
साने डरले आत्तिएर चिच्यायो “सबै गोलो बाहिर निस्क ! किसानको छोरो गोलो डढाउन आउँदैछ !”
अचम्म....अहिले भने उसको आवाज प्रस्टै बुझियो । सबैले उसको कुरा सुनेर बाहिर हेरे । नभन्दै हातमा दनदनी दन्केको राँको बोकेर किसानको छोरो गोलातिरै आउँदै थियो । त्यो देख्नासाथ सबै गोलो बाहिर निस्के ।              





६. सविनाको डायरी
सविनाले नोटप्याड खोलिन ।
उनी सुत्नु अघि सधैं दिनभरका चाखिला कुरा टिपेर डायरी लेख्थिन । उनलाई पुरानो पुस्ताको ल्यापटपमा लेख्न झर्को लाग्थ्यो । सबै कुरा औंला चलाएर किप्याड थिच्दै लेख्नुपर्ने !
उनी अहिले नयाँ पुस्ताको नोटप्याड चलाउँथिन् । आवाजबाट टाइप गर्न सकिने यो नोटप्याडमा लेख्नुको मजै अर्कै ! कानमा हेडफोन लाएर त्यसलाई कम्प्युटरमा जोडेपछि मुखले बोले पुग्थ्यो । नोट प्याडले आफैं टाइप गर्दै जान्थ्यो । लेखिसकेर पनि ठीक भयो, भएन उसैले सुनाउँथ्यो । एक्सप्रेसिङ प्रोग्रामले गर्द त्यो कुरा सम्भव भएको थियो । बाबाले यो नोटप्याड उसलाई जन्मदिनमा उपहार दिनुभएको थियो ।
यो नोटप्याड उपहार पाएदेखि लेख्न झनै सजिलो भएको थियो । वेभसाइट हेर्नुप¥यो भने कम्प्युटरले गर्ने अरू सबै काम गरिहाल्थ्यो ।
सविनाले आज पनि सुत्नुअघि नोट प्याडको डायरी पृष्ठ खोलिन् । मिति आफूले लेख्नै पर्दैनथ्यो । नोट प्याड खोल्नासाथ डायरीको पेजमा आजको मिति अङ्कित भइसकेको थियो–
शनिवार, १२ वैशाख २२०१,
राती १० बजे,
आरुवारी ।  
त्यसमुनि लेख्नका लागि खाली ठाउँ थियो । उनले स्पिकर मुख छेउ पर्ने गरी शिरमा हेडफोन रिसिभर भिरिन । उनी बेल्दै गइन, नोटप्याड लेख्दै गयो–
“ओहो...त्यस्तो बेला पनि रहेछ ! त्यतिबेलाका पुस्तक हाम्रो कम्प्युटरको इ–बुकभन्दा बेग्लै पो हुँदोरहेछ । कागजमा लेखिएको किताव....! कस्तो देख्दै अनौठो, कागजमा अक्षर छापिएको किताब !
रमेशले ‘ल हेर पुरानो पुस्तक’ भनेर आजै मलाई त्यो अनौठो पुस्तक देखाएको थियो । देखेर म त छक्क परेँ ।
रङ खुइलिएर धमिलो–पहेँलो भएको किताब दिँदै रमेशले भनेको थियोे– बाजेको पुरानो म्युजियमजस्तै कोठामा फेला पारेको !
नभन्दै धेरै पुरानो थियो त्यो पुस्तक । राम्ररी नराखेकोले होला, ठाउँठाउँमा कीराले खाएर प्वालैप्वाल थिए । रङ खुइलिएर धमिलो मटमैलो– पढ्न पनि मुस्किलैले सकिने ।
यस वर्ष छुट्टीमा मामाघर जाँदा मलाई हजुरबाले सुनाउनुभएको थियो– ‘उहाँका पालामा काजगम छापेका पुस्तक हुन्थे । हातैले पल्टाएर पढ्नुपथ्र्यो ।’ त्यतिबेला हजुरबाका कुरा पत्यारै लागेको थिएन ।
तर अहिले त्यस्तो किताब आफ्नै हातमा आइपुग्यो ।
सविता नोट प्याडमा लेख्नै गइन– मैले पढ्ने इ–बुकका पाना चलायमान हुन्छन्, आफैं सर्र सर्दै जाने ! तर रमेशका बाजेको यो पुस्तकको पेज त हातैले पल्टाउनु पर्ने । नभए जहाँ छ, त्यहाँको त्यहीँ !
यस्तो किताबको के काम ? एकपल्ट पढिसकेपछि राख्ने ठाउँको मात्रै समस्या ! रमेशले यस्तै सोचेर त मलाई दिएको होला यो किताब । उसले त्यतिबेलै भनेको थियो, “मैले त फाल्न लागेको !”
होत, रमेशले ठीकै त भन्यो नि ! आज कम्प्युटरमा इन्टरनेटबाटै भनेकेजस्तो पुस्तक पाइन्छ भने यस्तो पुस्तक जम्मा गरेर कोठामा राख्नु नै किन प¥यो र ! कम्प्युटरमा लाखौं पुस्तक राख्दा पनि न ठाउँको अवश्यक पर्ने न त यसरी औंला चलाइ चलाएर पन्ना पल्टाउँदै पढ्नुको झन्झट ।
मन नलागी नलागी यसमा के रहेछ त भनेर पल्टाएकीे थिएँ । धमिला अक्षर, पहिले त पढ्ने जाँगरै चलेन । कितावका चित्र पनि सादा सादा एकै रङ्का । च्यातिने डरले होसियारीपूर्वक पाना पल्टाएँ र कनीकुथी पढेँ । तर पहिलो पेज पढिसकेपछि अरु पनि पढुँ, पढुँ लाग्यो । पढ्दै जाँदा रङ न ढङ्गको त्यो थोत्रो किताब साँच्चिकै रमाइलो लाग्दै आयो । म त एकदमै नया संसारमा पुगेजस्तै भएँ....! जति जति पढ्दै गयो उति छाड्नै मन नलाग्ने । मनमनै लाग्यो– ई–बुक पढ्दा कहाँ यस्तो मजा आउँथ्यो र !
सुरुमा कितावको जन्मकथा लेखिएको थियो । पहिलेका मान्छे वर्र्षाैं लाएर हातैले पुस्तक लेख्थे रे ! ती पुस्तक तिखारेको सिन्कोमा मसी चोप्दै रुखको बोक्रामा लेखिन्थे । त्यसरी लेख्ने मसी पनि थरीथरीका रुखका बोक्रा पिनेर निकालेको राता, नीला, पहेँला र काला रङ्का हुन्थे । ओहो...कति अनौठो ! कति पट्यारलाग्दो त्यतिबेला पुस्तक लेख्ने काम ! वर्षांै लगाएर ताडपत्रमा हातैले बल्लबल्ल एउटा पुस्तक लेखिसक्नु पर्ने रे !
धेरै वर्षपछि बल्ल किताव छाप्ने छपाइ मिसिनको आविष्कार भएछ । जर्मनीका जोन गुटेनबर्ग भन्ने मान्छेले सिसाको अक्षरमा मसी दलेर छाप्ने मिसिन तयार गरेपछि किताब तयार गर्न केही सजिलो भएछ । कागज पनि कमलो रुख पेलेर मिसिनले नै बनाउ थालेछ । त्यसपछि भने मानिसले कागतमा हातले लेखेर तयार गरेको पुस्तक तिनै मिसिनले धेरै छापेर ठाउँ ठाउँमा पठाउन थाले छन् । ओहो कस्तो सुन्दै अनौठो पुस्तको कथा ! अहिलेजस्तो कम्प्युटर खोलेर इन्टरनेटबाट चाहेको पुस्तक खोज्दै पढ्न कहाँ पाइँदो रहेछ र त्यतिबेला !
डायरीमा त्यति लेखिसकेपछि सविना केहीबेर आँखा चिम्लेर बसिन् । उनी पुरानो संसारको कल्पनामा डुबिरहेकी थिइन् ।
केहीबेर त्यही पुरानो किताबमा पढेको सन्सारमा हराएपछि सविनाले त्यो अनौठो पुस्तक फेरि पढ्न थालिन् । किताबको कथा सकेपछि पुस्तकमा त्यतिबेलाका स्कुलका बारेमा पनि अनौठ अनौठा कुरा लेखिएका थिए । सुन्दै अचम्म लाग्ने !
उनले डाण्रीमा टिपिन्– ‘मलाई त स्कुलको नाम सुन्दैमा झर्को लाग्छ । कम्प्युटरमा इन्टरनेट खोल्यो, ट्युटोरियल खोल्यो । अनि आफू सुहाउँदो कक्षा र विषयको पाठ खोजेर पढ्यो, अभ्यास ग¥यो । न साथमा साथी छन्, न पढाउने कुनै मानिस ! सबैतिर यन्त्र बाहेक केही छ्रैन, कोही छैन ।’
‘त्यतिबेला अहिलेजस्तो यन्त्र गुरुले कम्प्युटरबाट घरघरमैं पढाउने होइन रहेछ । त्यतिबेला त गुरुकुल, स्कुल, पाठशाला, विद्यालयजस्ता नाम गरेका घरहरू हुँदारहेछन् । सबै केटाकेटी तिनै घरमा जम्मा हुन्थे रे । अनि साँच्चैका गुरु आएर एकैसाथ पढाउँदारहेछन् । आहा... कस्तो मज्जा हुन्थ्यो होला सबै साथी एकै ठाउँमा बसेर हाँस्दै खेल्दै पढ्दा ! अहिले त कोठामा एक्लै धुम्धुम्ती बस्यो, कम्प्युटरमा यन्त्रगुरुको निर्देशन हेर्दै नयाँ कुरा सिक्यो । कहिले काहीँ त बोरै लाग्छ मलाई !’  
सविता डायरी लेख्दै गइन्– ‘विद्यार्थीहरू विहान स्कुल जान्थे । बेलुका पढिसकेर आ–आफ्नै घर फर्कन्थे । विद्यार्थीहरू स्कुलमा लहरै लाम लागेर बस्थे । गुरुहरू पनि पालै पालो विभिन्न विषय सिकाउँथे । भनेको नमान्ने, अल्छी गर्ने, र नपढ्ने विद्यार्थीलाई गुरुहरूले हातमा सुम्लै उठ्ने गरी लठ्ठीले पिट्थे !’
ओहो...कति दुख्थ्यो होला त्यसरी पिटाइ खाँदा । अहिले त त्यसरी पिट्यो भने यन्त्रपुलिसले समातेर लगिहाल्छ नि ।
सविना डायरीका पन्नासँगै अघि पढेको त्यो पुस्तकका पुरानो संसारमैं हराइरहिन् । कल्पनामा तिनै केटाकेटीसँग मिसिएर रमाइरहेकी थिइन् उनी । रात धेरै छिप्पिइएको थियो । उनलाई त्यसको पनि पत्तो भएन । निद्राले आँखा राता भएपछि बल्ल डायरी लेख्न बन्द गरिन् !



No comments:

Post a Comment